बागमती प्रदेशमा पाण्डेको नेतृत्वमा नयाँ सरकार, प्रदेश प्रमुखबाट ३ बजे सपथ ग्रहण गराउने तयारी
कार्तिक, हेटौडा – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा नया सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो ।
प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ ।
प्रदेश प्रमुखले आज तीन बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । पाण्डे झण्डै सात महिना मुख्यमन्त्री हुनेछन् । त्यसपछिको बाँकी समय कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।
गठबन्धनबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सुरुमा बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
को–को बन्दै छन् मन्त्री ?
पाण्डेको मन्त्रिपरिषदमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप-नेता कुमारी मोक्तान, कांग्रेसका उप-नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप-नेता कृष्ण खनाल मन्त्री बन्दै छन् ।
माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ ।






