बागमती प्रदेश : नयाँ सरकारमा मकवानपुरकी कुमारी मोक्तान मन्त्री बन्दै
कार्तिक, हेटौंडा – बागमती प्रदेशको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बन्ने नया सरकारमा मकवानपुरबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान मन्त्री बन्ने भएकी छन् ।
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेशसभा निर्वाचनबाट मोक्तान बिस २०७४ मा वामगठवन्धनको तर्फबाट विजयी भएकी थिईन् ।
पाण्डेको मन्त्रिपरिषदमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप-नेता कुमारी मोक्तान सहित, कांग्रेसका उप-नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप-नेता कृष्ण खनाल मन्त्री बन्दै छन् ।
माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ ।
बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको बताईएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बुधबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेकी थिइन्। आज अपरान्ह ४ बजे मुख्यमन्त्री सहित ४ जनाले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

ताम्सालिङ खबर 




