आमभन्ज्याङ युवा क्लबले जित्यो, बिनयबाबु स्मृति रनिङ शिल्ड भलिबलको उपाधि
कार्तिक, हेटौडा (थाहानगर) – बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ ।
शुक्रबार थाहानगरको वडा नम्बर २ मा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि चुमेको हो ।
उपाधि जिते संगै आमभन्ज्याङ युवा क्लबले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।
कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोह नेकपा एमाले थाहा नगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।
समारोहका विशिष्ट अतिथिहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष गुप्त बहादुर कार्की, जनकल्याण माद्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की रहनुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष शेखर कार्कीले संचालन गर्नुभएको कार्यकम अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो ।

राजकुमार केसी




