बसको ठक्करबाट नेवारपानीमा २ जनाको मृत्यु, ८ जना घाइते
कार्तिक, हेटौंडा (नेवारपानी) – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा बसको ठक्करबाट शनिबार राति दुई जनाको ज्यान गएको छ ।
बसको ठक्करबाट मृत्य हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी निवासी २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको मकवानपुर प्रहरीले जनाएको छ । आठ जना घाइते भएका छन् । बसले ठक्कर दिएपछी स्थानीय वासिन्दाहरुले बस जलाएका छन् ।
गौरबाट हेटौंडा हुँदै नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी भैलो खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो । घाइते आठजना मध्यमा पाँच जनाको चुरेहिल अस्पताल र अरु तीन जनाको चितवनमा उपचार गरिएकोमा सातजना डिस्चार्ज भएका छन् । चितवनमा उपचार गराइरहेका एक जनाको भने उपचार भइरहेको छ ।
आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।






