प्रेस सेन्टर मकवानपुरका दिवंगत टोनीको सम्झनामा श्रद्धाञ्जली सभा
मंसिर, हेटौडा – प्रेस सेन्टर मकवानपुरले दिवंगत आफ्ना सदस्य विमल टोनी श्रेष्ठको १३ औं दिनको पुण्य तिथीमा सोमबार श्रद्धाञ्जली सभा गरेको छ ।
नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष पुलामीले सदस्य टोनीको अल्पायुमा भएको अकल्पनीय निधनले सिङ्गो पार्टी तथा पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो ।
निरन्तर संगठनमा रहेर प्राप्त जिम्मेवारीलाई कुशलता पूर्वक निभाउँदै अघि बढेका सहकर्मीको निधनले सिंगो संगठन सदस्यहरुलाई स्तब्ध तुल्याएको उहाँले बताउनुभयो ।

पार्टी र संगठनले एक असल सहकर्मी गुमाएको भन्दै अध्यक्ष पुलामीले जन्मपछिको मृत्यु, अघि र पछिको सत्य घटना भएकाले परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकठ गर्नुभयो । टोनीको यहि कात्तिक २४ गते शैक्षिक भ्रमणका क्रममा दार्जलिङमा निधन भएको हो ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), पत्रकार महासंघ बागमती प्रदेश कमिटिका उपाध्यक्ष रुपेश दुलाल सहित प्रेस सेन्टरका प्रदेश तथा जिल्ला तहका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो ।






