मतदाता नामावली संकलनमा जुट्यो, निर्वाचन कार्यालय हेटौंडा
मंसिर, हेटौडा – स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएकोछ । आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरिनुपर्ने अवस्थामा आयोगले आफ्नो गतिविधि बढाएको हो ।
निर्वाचन अवधि नजिकिदै जाँदा बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन गर्ने कार्य अघि बढाउँदैछ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको अन्तरक्रियामा यस्तो जानकारी गराएको हो । मकवानपुमा दुई चरणमा मतदाता नामावली संकलन गरिने बताएको छ ।
१८ वर्ष पुरा भएको मतदातामा नामवलीमा नाम नभएकाहरुको संकलन कार्य संचालन गर्न लागिएको कार्यालयले जनाएको छ । यहि मंसिर १७ गते देखि पुष २ गते सम्म पहिलो चरण र पुष ५ गते देखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जानकारी दिएको छ ।
पहिलो चरणमा मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने र दोस्रो चरणमा भने जिल्लाको बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा कार्यक्रम तय भएको जानकारी दिईएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आएर नामावली दर्ता गर्न सकिने कार्यलयले जनाएको छ ।
कार्यालय अनुसार जिल्लामा २०७८ कात्तिक सम्म २ लाख ८० हजार १८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष,१ लाख ३७ हजार ४७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यलयमा राजनीतिक दलहरु,सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।






