खानीका कारण राक्सिराङ रणभुमि बन्ने खतरा बढ्यो, माओवादी केन्द्र राक्सिराङ
मंसिर, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा संचालनमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको ढुङगा खानीका कारण विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) राक्सिराङ गाउँपालिका कमिटिले ध्यानाकर्षण भएको जनाएको छ ।
राक्सिराङ गाउँकमिटिको अध्यक्ष हस्तबहादुर मोक्तानले बिज्ञप्ति निकालेर पछिल्लो एक महिनायता खानी क्षेत्रमा देखिएको विवाद र त्रासदीपुर्ण वातावरणले शान्त राक्सिराङ नै रणभुमि बन्ने खतरा बढ्दै गएको जनाएको छ ।
विज्ञप्तिमा नियोजित रुपमा तोडफोड, उत्खनन क्षेत्रमा स्काभेटर जलाउने, दिनदिनै विवाद बढ्दै गएकाले राक्सिराङ नै प्रभावित बनेको उल्लेख छ । विभिन्न नाकाबाट प्रहरी परिचालन गरिनुले युद्धकालीन त्रासदी सिर्जना गराएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रभावित स्थानीय समुदायको पक्षमा उच्च अदालत पाटनको हेटौडा इजलासले दिएको आदेशलाई समेत बेवास्ता गर्दै उत्खनन् कार्य पुनः थालनी गर्ने र विवाद उग्र बनाउने काम भएको बिज्ञप्तिमा जनाइएको छ । उत्पन्न समस्याहरुका बिषयमा उद्योग र सरोकारवाला बीच तत्काल वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न माग समेत गरिएको छ ।
‘तत्काल प्रभावित क्षेत्र एकिन, प्रभावितहरुको ब्यवस्थापन, उद्योग र स्थानीय सरोकार समितिबीच भएको १३ बुँदे विस्तृत सम्झौता कार्यन्वयनमा सम्बन्धित निकाय उद्योग गम्भीर बनोस’, बिज्ञप्तिमा उल्लेख छ – ‘स्थानीय मुद्धा एकातिर छोडेर अर्कातिर ब्यक्तिगत स्वार्थका लागि चलेको दादागिरीको शिकार नबन्न रिद्धि सिद्धि सिमेन्ट उद्योगलार्य सचेत गर्दछौ । दमन र अत्याचार बिद्रोहको आधार हो, गरिब निमुखा र दुखीहरुको सहनशीलतालाई कमजोरीको रुपमा बुझ्नु गम्भीर भूल हुनेछ ।’
जनताको वास्तविक समस्या र पीडामा नजरअन्दाज गरि स्थानीयहरुमाथि गरिएको एकपक्षीय पेलानले स्थिति तनावग्रस्त बनेको र सो घटना प्रति पार्टी गम्भीर रहेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ती हेर्नुहोस् –







