‘नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन’ – सदस्य सचिव घिसिङ
मंसिर, काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य-सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य-सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शुन्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढछु ।’ सदस्य-सचिव घिसिङले भने ।
उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।
‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहि कदापी होइन ।’ उनले भने ।
उनले नतिजा मात्र खोज्नु भन्दा पनि कसरी राम्रो नतिजा आउछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका घिसिङले सरोकारवाल संग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह/सुझावलाई आत्सात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक संख्या लगायतका बारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।
मुख्य प्रशिक्षकहरुले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षणलगायतका अवस्था बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।- खेलपाटी डटकमबाट






