नमोबुद्ध नगरपालिकाका उत्कृष्ठ कर्मचारी र स्वास्थ्यकर्मी सम्मानित
मंसिर, काभ्रे (भकुण्डेबेशी) – काभ्रेको नमोबुद्ध नगरपालिकाले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरेको छ ।
बिहीबार बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको नगरको आठौं स्थाापना दिवस समारोह कार्यक्रममा नगरपालिकाले नगरको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पनि सम्मान गरेको हो ।
नगरपालिकाले यस बर्ष सर्वोत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी निरमाया लामालाई सम्मान गरेको छ । तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरी कार्यालयभित्र सरसफाईको क्षेत्रमा अमुल्य योगदान पु¥याउने लामालाई नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरिएको पष्ट पारेको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शेखर खड्कालाई नगरभित्र शान्ति, सुरक्षा र सुशासन कायम गर्न पु¥याएको योगदानको कदर गर्दै आभारपत्रबाट सम्मान गरिएको छ भने आइसोलेसन केन्द्र स्थापनाका लागि ठाउँ उपलव्ध गराउने जनक क्याम्पस, सञ्चार क्षेत्रमार्फत नगरको विकासमा सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य गर्ने धुलिखेल अस्पतालका कर्मचारी कृष्ण अधिकारी, कानुनी सल्लाहकार केदार कोइराला, स्थानीय समाजसेवी मित्र खनाल, विदेशी नागरिक लक्की र युवा अभियन्ता सञ्जीप न्यौपानेलाई आभारपत्रबाट सम्मानित गरिएको छ ।
यस्तै सञ्चार क्षेत्र सँग समन्वय र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नगरपालिकाका प्रेस सल्लाहकार विनोदकुमार न्यौपाने,उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा शाखामा कार्यरत बुद्धिराज अर्याल, लेखा अधिकृत ऋपुध्वज केसी, इन्जिनियर उज्ज्वल अर्याल, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवार, कृषि शाखा प्रमुख रेशम दाहाल, कम्प्युटर अपरेटर राजीव श्रेष्ठ, श्याम खनाल, वडा सचिव श्रीधर खनाल, स्टाफ नर्स मथुरा सत्याल, सिअहेब बलराम पौडेल, पशु प्राविधिक शिव तिवारी, कार्यालय सहयोगी ललिता पराजुली, डिल्लीवहादुर मैनाली तथा हलुका सवारीचालकहरु कर्मध्वज लामा र जगतप्रसाद तिमल्सिनालाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।
यस्तै कोभिड १९ रोकथाम र नियन्त्रणको क्रममा सक्रियतापूर्वक खटिएका मेथिनकोट अस्पतालका डाक्टर सागर जर्घामगर, रोशी गाउँपालिकाका मेडिकल अधिकृत डाक्टर निराजन तामाङ, सिअहेब नवराज दाहाल, टिकानिधि कोइराला, राजु बोगटी, सिअनमी नानीमैया बिष्ट, सहायक पाँचौं कमल भुर्तेल, अहेब कल्पना अधिकारी, हेल्थ असिस्टेन्ट हेमन्त खनाल, अनमी सरस्वती शर्मा, अहेब प्रल्हाद थपलिया, ल्याब असिस्टेन्ट शर्मिला थिङ लामा, सञ्जीता राउत, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, कार्यालय सहयोगी मनोज पौडेल र कुमार थापालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अथिति पूर्वमन्त्री लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । स्थापना दिवसकै अवसरमा नगरपालिकाले शहीद नवराज पाठकको परिवारलाई विशेष सम्मान प्रदान गरेको छ । यस्तै जनप्रतिनिधि निर्वाचित भएदेखि बसेका १ सय वटा कार्यपालिका बैठक र दशवटा नगरसभा बैठकका निर्णयहरु समेटिएको पुस्तक निर्णय पुस्तिका पनि सार्वजनिक गरिएको छ ।






