हेटौंडामा अन्तरपालिका फुटबल प्रतियोगिता हुने, विजेताले २ लाख पाउने

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार ०९:१५

मंसिर, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को हुप्रचौरमा जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि मंसिर १८ गतेबाट २५ गतेसम्म हुने अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगितामा जिल्लाको १० वटै स्थानीय तहको सहभागिता रहने बताए । उनले युवाहरूमा खेल भावनाको विकास र एकताबद्ध बनाउन, खेलकुद प्रति आकर्षित गरी स्वस्थ युवा जनशक्ति उत्पादनमा सहयोग गर्ने, खेल प्रतिभाको खोजी गर्ने, जिल्ला स्तरीय फुटबल टिम तयार गर्ने, खेलकुद गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ लाख ५८ हजार ७५० रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*