बहिरा विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री सहयोग
मंसिर, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, गौरीटारस्थित शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेल सामग्री सहयोग प्राप्त भएको छ । ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीका लागि आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास संस्था सीडीओ नेपाल मकवानपुरले स्कूल व्याग, विद्यालय पोशाकका साथै आवासीय विद्यार्थीका लागि ओढ्ने, ओछ्याउने तथा झुललगायतका सामग्री सहयोग गरेको छ । संस्थाले १ लाख ५० हजार रुपैयँ बाराबरको सामग्री सहयोग गर्ने कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । उहँले विद्यालय सँग निरन्तररुपमा जोडिएर सहयोग गर्न पाउँदा खुसी मिलेको बताउनुभयो ।
यस्तै, इस्थर बेन्जामिन स्मृति संस्था मकवानपुरले विद्यालयलाई २ वर्षसम्म सहयोग प्रदान गर्ने प्रतिबद्धतासहित कपी, कलम, पेन्सिल, इरेजरलगायतका शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाका सानुकान्छा घलानले विद्यालयले सहयोगका अनुरोध गरेकाले विद्यालयका सबै विद्यार्थीलाई २ वर्षसम्म पुग्ने शैक्षिक सामग्री सहयोग प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले बागमती प्रदेशभरमै यस प्रकृतिको विद्यालय यही एउटामात्र रहेकाले विद्यालयलाई माविस्तरमा लैजानु आवश्यक रहेको बताउनुभयो । आफूहरुले निकै प्रयास गरेपनि सम्बद्ध निकायले विद्यालयको स्तरोन्नतिका लागि बेवास्ता गरेकोको जानकारी दिनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यालयमा हाल कक्षा १ देखि ७ सम्म अध्ययन हुने गरेको छ । विद्यालयमा कक्षा १ देखि ७ सम्म ३३ जना विद्यार्थी रहेका छन् ।






