पाण्डे सरकारले बागमती प्रदेशको ८ मन्त्रालयलाई टुक्राउदै १४ पुर्यायो

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १८:०८

मंसिर, हेटौंडा – बागमती प्रदेशको गठबन्धन सरकारले दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्‍याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्रयाउदै १४ मन्त्रालय पुर्‍याएको हो ।

मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छ।

पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक ममिला तथा कानून मन्त्रीमा कृष्ण खनाल, आर्थिक ममिला तथा योजना मन्त्रीमा शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा निमा लामा, सामाजिक विकास मन्त्रीमा कुमारी मुक्तान रहेको छ । प्रदेश नियमावली २०७४ को ७ अनुसार कार्य विभाजन तथा हेरफेर गरिएको हो ।

हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो ।

वर्तमान पाण्डेको सरकारले हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।

भौतिक पूर्वाधार बिकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई गठबन्धन भित्रका दलहरुलाई भागबन्डा मिलाउन मन्त्रालय थप गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*