आदिवासी जनजाती आयोगको बार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख समक्ष पेश
मंसिर, हेटौडा – आदिवासी जनजाती आयोगले आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।
आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागिपर्न सुझाव दिनुभयो । आदिवासी जनजातीको शिप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्य योजनाहरु अघि बढाउनुपर्ने आफूलाई लागेको बताउनुयो ।
आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभयो । प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारस मणि फुयाल लगायतको उपस्थिती थियो ।
यसैबिच, आदीवासी जनजाति आयोगले मकवानपुरका जातिय संघसंगठनका प्रतिनिधिहरुसंग छलफल गरेको छ । आयोग अध्यक्ष थापा र सदस्य गुरुङले मकवानपुरमा रहेका आदीवासी जनजातिको अवस्था, भाषा, समस्या र जनगणनाबारे जानकारी लिएका हुन् ।
आयोगको टोलीले चाँडै मकवानुरको चेपाङ जातिको अध्ययन गर्ने समेत बताइएको छ । सडक, खानी लगायतका कारण आदीवासी जनजातिको बसोबास उठाउने कार्यविरुद्ध उजुरी दिन आयोगका सदस्य गुरुङले आग्रह गरे । नेपाल आदीवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







