पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन
पुष, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन भएको छ । गाउँपालिकाको झुरझुरेमा आफ्नो कार्यलय स्थापना गरि शुक्रबारबाट सेवा सुरु गरेको हो ।
बागमति गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा संचालनमा आएको आँखा केन्द्र गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा सामुदायिक आँखा केन्द्र उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताउनुभयो । उहाँले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताउनु भयो ।
नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले बागमती गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना हुनु पूर्वदेखि नै आँखा सेवा पुर्याउँदै आएकोमा अहिले व्यवस्थित रुपमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा बागमति गाउँपालिका उपाअध्यक्ष धनमाया स्याङतान, कार्यकारी अधिकृत दिलीप कुमार श्रेष्ठ ,नेत्र रोग बिशेषज्ञ डा. होम बं गुरुङ, लेखा अधिकृत झम्क नारायण घलान, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल लगायतको उपस्थिती रहेको थियो ।






