प्रेस सेन्टर मकवानपुरद्वारा पत्रकार विष्टलाई सुत्केरी भत्ता प्रदान

तामसालिङ खबर
१४ पुष २०७८, बुधबार ०८:०७

पुष, हेटौंडा – प्रेस सेन्टर नेपाल मकवानपुरले देशमै पहिलोपटक पत्रकार महिलालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । सेन्टरको पुष १० गते बसेको पहिलो पूर्ण बैठकले महिला पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराउने निणर्य बमोजिम मंगलबार पत्रकार सुनिता विष्टलाई सुत्केरी भत्ता उपलब्ध गराएको हो ।

सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाले विष्टलाई नगद पाँच हजार रुपैयाँ उपलब्ध गराएकी हुन् । नगद उपलब्ध गराउदै अध्यक्ष थापाले निरन्तर पत्रकारीतामा लागेका महिलाहरुलाई सुत्केरी अवस्थामा प्रोत्साहनस्वरुप भत्ता वितरण गरिएको बताए । उनले नेपालमा अहिलेसम्म पत्रकार महिलालाई प्रोत्साहनका रुपमा कुनै कार्यक्रमहरु नगरिएकाले सेन्टरको मकवानपुर शाखाबाटै यस कार्यक्रमको शुभारम्भ गर्नु पाउँदा आफुलाई गर्वान्वित महसुस भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगरले प्रेस सेन्टरको पत्रकार महिलालाई प्रदान गरिएको सुत्केरी भत्ताले आगामी दिनमा पत्रकारीतामा निरन्तर क्रियाशिल रहन महिला पत्रकारलाई प्रेरणा मिल्ने जिकिर गरे ।

यसैबिच, नेपाल पत्रकार महासंघ मकवानपुरको टोलीले मंगलबारै पत्रकार सुनिता विष्टलाई भेट गरेका छन् । अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले सुत्केरी भएर बसेकी पत्रकार विष्टलाई पोषिलो खानेकुरा प्रदान गरेको छ । अध्यक्ष गौतमले पत्रकार विष्ट र छोरीको सुस्वास्थ्यको कामना गर्दै आगामी दिनमा महिला पत्रकारहरुलाई प्रोत्साहन गर्न थप कार्ययोजना ल्याउने जानकारी दिए ।

यस्तै, सोही दिन सञ्चारिका समूहले पनि पोषिलो खानेकुरा सहित पत्रकार विष्टलाई भेट गरेका छन् । समूहका अध्यक्ष सम्झना रिजाल नेतृत्वको टिमले भेट गरी आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ ।

कार्यक्रममा पत्रकार महासंघका तर्फबाट उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु रुपा गुरुङ, अर्जुन सञ्जेल, सृजना नेपाल लगायतको सहभागिता रहेको थियो । पत्रकार विष्ट बिगत दुईबर्षदेखि मकवानपुरलाई कर्मथलो बनाएर पत्रकारीतामा क्रियाशिल रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*