धिताेपत्र बाेर्ड अध्यक्षका लागि दाेस्राे पटक आवेदन खुल्याे

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०६:३१

पुष, काठमाण्डाै – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज बिहीवार एक सूचना प्रकाशन गर्दै यस पदका आवेदन माग गरेको हो ।

अर्थ मन्त्रालय अन्तर्गतको बोर्डले यसअघि गएकाे कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको आवेदनलाई रद्द गर्दै फेरि दोस्रो सूचना प्रकाशन गरिएको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ । रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

१५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।

अध्यक्ष पदका लागि आवेदन दिन धितोपत्रसम्बन्धी ऐन २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको र धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।

यस्तै आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भइ ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*