राक्सिराङको ठुलोटोड्केमा पहिलोपटक ल्होछार सास्कृतिक कार्यक्रम हुने
पुष, हेटौडा (राक्सिराङ) : मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ ठुलोटोड्केमा पहिलोपटक ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सोनाम ल्होछार २८५८ ताग ल्हो ( बाघ बर्ग) को अवसरमा माघ १४ गते बृहत कार्यक्रम आयोजना गरिएको शुक्रबार मनहरीमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिइयो । २ हजार मिटरभन्दा बढि उचाई रहेको ठुलो टोड्केमा पहिलोपटक राष्टिय कलाकारहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा आयोजक कर्साङ छोइलिङ गुम्बाका अध्यक्ष सुर्य बहादुर थिङले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्च हुने र एक हजारभन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । बागमती प्रदेशका सामाजिक बिकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको विभिन्न उपसमितिहरु बनाएर तयारी भइरहेको छ ।
कार्यक्रममा ख्याति प्राप्त गायिका जितु लोप्चन, गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ, गायिका बिमला थिङ, रेश्मा बोम्जन, पुजा तामाङ, बालिका तामाङ, मोडल तथा डान्सर सोना थोकर लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कलाकार ब्यवस्थापन संयोजक पुष्पराज थिङले बताए । कार्यक्रममा लामा, झाँक्री, ताम्बाहरुको झाँकी प्रस्तृति समेत रहनेछ ।
त्यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्याएको विभिन्न तामाङ ब्यक्तित्वहरुलाई सम्मान समेत गरिने प्रचारप्रसार संयोजक प्रकाश तामाङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष तथा समाजसेवी हस्त बहादुर मुक्तानले चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको स्थानमा आदिवासी कला संस्कृति जगेर्ना गर्नका लागी कार्यक्रम प्रभावकारी हुने बताए । उनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता र ग्रामीण पर्यटनको प्रचार र प्रबद्र्धनमा कार्यक्रमले भुमिका खेल्ने बताए ।






