गोरखामा जिप दुर्घटना अपडेट : मृतक पहिचान खुल्यो

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार ०८:१२

बैशाख, गोरखा – गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका-१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए ।

सिरानचोक गाउँपालिका-५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उनले बताए ।

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*