विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न हेटौंडा उपमहानगरको आग्रह
बैशाख, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले सोमबार एक सूचना प्रकाशि गरी शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी भर्ना अभियान सुरु गर्न आग्रह गरेको हो ।
हेटौडा उपमहानगर क्षेत्र भित्रका विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गराई संविधान प्रदत्त शिक्षा प्राप्त गर्ने मौलिक अधिकारलाई सुनिश्चित गर्न सम्पूर्ण अभिभावक, विद्यालय, शिक्षा प्रेमी, सरोकारवालाहरूमा आग्रह गरिएको छ ।
“सबै बालबालिका विद्यालय पठाऔंँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्न सूचनामा भनिएको छ ।
विद्यालयले विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने र आफ्नो सेवा क्षेत्रभित्र घरदैलो कार्यक्रम, विद्यार्थी भर्ना गर्ने, स्वागत कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्य गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।
यसैगरी सामुदायिक विद्यालयहरूले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, अभिभावकविहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता विद्यार्थीको पढाइमा निरन्तर सहयोग गर्न चाहनेको उचित पहिचान र सम्मान गर्ने र अभिलेख राख्ने व्यवस्था गर्न पनि उपमहानगरपालिकाले अनुरोध गरिएको छ ।
यसैगरी. विद्यालयले आफ्नो क्षेत्रभित्र विद्यालय उमेरका शत प्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए पश्चात विद्यालयबाहिर बालबालिका नभएको स्वःघोषणा गर्न पनि उपमहानगरपालिकाले सूचनामार्फत आग्रह गरेको छ ।






