रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु
जेठ, भैरहवा – जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।
बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन ।
घटनास्थल रोहिणी गाउँपालिका – ४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।






