राक्सिराङमा चट्याङबाट बच्न प्रत्येक घरमा अर्थिङ जडान गरिने
जेठ, हेटौडा – मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकामा चट्याङबाट बच्न प्रत्येक घरमा अर्थिङ जडान गरिने भएको छ । चट्याङ लागेकै कारण बर्षेनि धेरै मात्रमा जनधनको क्षति हुदै आएको गाउँपालिका मकवानपुरको चट्याङबाट बढि प्रभावित क्षेत्र हो ।
प्राकृतिक विपतको रुपमा आइपर्ने चट्याङको क्षति न्युनिकरणका निम्ति राक्सिराङ गाउँपालिकाले तयारी थालेको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि बसेको गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले चट्याङबाट हुने क्षति न्युनिकरणका निम्ति गाउँपालिकाको सबै घरमा लाइटिङ एरेस्टर जडान गर्ने निर्णय गरेको छ ।
लाइटिङ एरेस्टरलाई अर्थिङ भनेर बुझ्न सकिन्छ । गाउँपालिकाले सो प्रविधि प्रत्येक घरमा जडान गर्न नगद ५ हजारका दरले अनुदान समेत उपलब्ध गराउने निर्णय गरेको छ ।
आवश्यक प्राविधिक अध्ययन गरि चट्याङको प्रभाव कम गर्न सो प्रविधि जडान गराउने निर्णय गाउँपालिकाले गरेको हो । गाउँपालिकामा यसै बर्ष मात्र चट्याङ लागेर १ जनाको ज्यान गएको छ भने अन्य केही घाइते समेत भएका छन ।






