बागमती प्रदेशको आयोजनमा जनप्रतिनिधिलाई सरकार संचालन र विकास सम्बन्धी अभिमुखीकरण
जेठ, हेटौडा – बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हेटौंडा २ दिने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबारबाट सुरु भएको छ ।
प्रदेशमा भएका ११९ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा दुई दिने कार्यक्रम भएको हो । प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सुशासन केन्द्रको सहयोग तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रजिअ भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रम भोली मंगलबार सम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।







