हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्रमा साइकल लेन

तामसालिङ खबर
३१ जेष्ठ २०७९, मंगलवार ०७:३८

जेठ, हेटौँडा – आगामी दिनमा बन्ने सडक संरचनामा साइकल लेन अनिवार्य राख्नका लागि दवाव दिने उद्धेश्यले हेटौंडाको मुख्य बजारक्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्र बुद्धचोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ सांकेतिक रुपमा साइकल लेन निर्माण गरेर साइकल लेखनको आवश्यकता रहेको दाबी गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको हो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिएका छन् ।

राष्ट्रिय राजमार्गको छेउमा दुबैतर्फ साइकल लेन बुझाउने संकेत चित्र तयार पार्ने काम आइतबारदेखि सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मीना लामाको उपस्थितिमा साइकल लेन निर्माणको कार्य सुरु गरिएको हो । पछिल्लो समय हेटौंडामा साइकलको प्रयोग गर्ने क्रम बढ्दै गएको र साइकलको प्रयोगलाई उच्चप्राथमिकता दिन प्रमुख लामाले आग्रह गरेकी छन् ।

साइकलको प्रयोगलाई संस्कृतिकै रुपमा विकसित गर्न मुख्य राजमार्ग क्षेत्रमा साइकल लेन निर्माण गर्नु महत्वपूर्ण भएको र आगामी दिनमा नगरका सडकलाई साइकलमैत्री बनाइने नगरप्रमुख लामाले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

आगामी दिनमा निर्माण गरिने सडक संरचनामा साइकल लेन अनिवार्य समाबेश गर्न यो अभियानले दवाव सृजना गर्ने सोसाइटीका उपाध्यक्ष एबम् पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्यले बताएका छन् । यसअघि काठमाडौं उपत्यका, पोखरा, दाङमा पनि यस्तै साइकल लेन निर्माण गर्ने कार्य भइसकेको छ ।

यो अभियानले सडक संरचनामा साइकल लेन र अपाङमैत्री लेनको आवश्यकता छ भन्ने कुराको सांकेतिक रुपमा दवाव दिएको लागि भएको सोसाईटीका महासचिव सागर पन्थीले बताए । हेटौंडाको मेनरोड फराकिलो नभएपनि यसलाई सांकेतिक रुपमा साइकल लेनको आवश्यकता महशुस गराउन खोजिएको महासचिव पन्थीको भनाई रहेको छ ।

पेट्रोलियमपदार्थको मूल्यवृद्धि उच्चदरमा भइरहेको बेला स्वास्थ्य, वातावरण र आर्थिक रुपमा सस्तो हुने साइकलको प्रयोगमा जोड दिन पनि नगरप्रमुख लामाको आग्रह छ । उपमहानगरपालिकाले विद्यालय तहमा विद्यार्थीलाई साइकल प्रयोगमा जोड दिन साइकलका लागि अनुदानको कार्यक्रम ल्याउने योजना बनाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*