मनहरी – आदमघाट सडक तीन बर्षभित्र कालोपत्रे हुने
असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बजारबाट धादिङको आदमघाट जोड्ने छोटो दूरीको बाटो निर्माणले तीब्रता पाउने भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० मा बागमती प्रदेश सरकारले ३४ करोड रुपियाँ बिनियोजन गरी बाटो निर्माणलाई तीब्रता दिन लागेको हो । यो खण्ड निर्माण हुँदा परेवाभीरको भुइँ भएर पक्की सडक बन्ने निश्चित छ ।
शुक्रबार अकस्मात बागमती प्रदेश सरकारका तीन जना मन्त्रीले परेवाभीर खण्डमा पुगेर स्थानीय जनप्रतिनिधि, पत्रकार र नागरिकहरुसामु खुसीको खबर दिनु भएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल र वन तथा वातावरण मन्त्री बिशाल खड्का परेवाभीरको छेवैमा पुगेर सडक खण्डको अवलोकन गर्नु भएको हो ।
साथमा पश्चिम मकवानपुरका प्रदेश सांसद ओमबहादुर ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, राक्सिराङ गाउँपालिका ४ का वडाध्यक्ष सन्जय कोइराला, कैलाश गाउँपालिका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तान लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
अवलोकनपछि आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले भन्नुभयो–‘मनहरीदेखि आदमघाट बाटोको लागि नयाँ आर्थिक बर्षमा ३४ करोड छुट्याइएको छ, अब धमाधम बाटो निर्माण हुन्छ ।’ उहाँको भनाईमा समर्थन जनाउँदै भौतिक पूर्वाधार विकास मन्त्री भँडेलले भन्नुभयो–‘निरन्तर ३ बर्षमा कालोपत्रे हुने गरी यो खण्डको सडक निर्माण सम्पन्न हुनेछ ।’
यसअघि बागमती प्रदेश सरकारलाई मनहरी–आदमघाट सडक निर्माणका लागि गरेको पहल निरर्थक भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले यो खण्डमा बाटो बनाउन नसकिने भनेर सार्बजनिक अभिब्यक्ति दिएर विवादमा आउनु भएको थियो । ‘सडक होस् वा अन्य योजना, नेतृत्वले सही समयमा सही निर्णय गर्न सकेन भने असफल भइन्छ’, आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले भन्नुभयो–‘अहिलेको प्रदेश सरकार मनहरीबाट परेवाभीर हुँदै आदमघाट पुग्ने बाटो निर्माण गर्ने कुरामा स्पष्ट छ, हामीले नयाँ आर्थिक बर्षमै सफलता हात पार्छौ ।’
धादिङको गल्छी, आदमघाट र मलेखुमध्ये कुन बिन्दुमा बाटो निकाल्ने भन्ने कुरामा राजनीतिक लडाइँजस्तो देखिएकाले पनि बिगतमा यो बाटोबारे स्पष्ट धारणा बनाउन नसकिएको बताउँदै उहाँले कतिपय मान्छेलाई परेवाभीर भत्काएर बाटो बनाउन लागिएको हो कि भन्ने भ्रम रहेको बताउनुभयो । ‘परेवाभीरको भुइँबाट बाटो स्तरिकरण गरेर लैजाने हो, भीर भत्काउने होइन’, जमकट्टेलको भनाई थियो–‘अहिले संघीय सरकार र स्थानीय सरकार मिलेर जुन काम भइरहेको छ, यो प्रशसंनीय छ ।’
आदमघाट – मनहरी ६५ किलोमिटर सडक खण्ड निर्माण गर्ने जिम्मा अब प्रदेश सरकारको रहेको समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले हालसम्म भएका पहल, प्रगति, राजनीतिक खिचातानीबारे समेत मन्त्रीहरुलाई जानकारी गराउनु भएको थियो । जबाफमा भौतिक पूर्वाधार विकास मन्त्री भँडेलले भन्नुभयो–‘अब यो तनाव स्थानीय सरकारले लिनुपर्दैन, प्रदेश सरकारको जिम्मा भयो ।’ उहाँले आफ्नो क्षेत्रको योजना समेत काटेर मनहरी–आदमघाट जोड्ने बाटो निर्माणमा लगानी गरिएको बताउनुभयो ।
आदमघाट – मनहरी सडक खण्डको ६५ किलोमिटरमध्ये परेवाभीर खण्डमा ६ सय मिटर बाटो जोखिम छ । पर्खाल उठाएर सडक निर्माणको कार्य राक्सिराङ गाउँपालिकाको २ करोड र संघीय सरकारको तर्फबाट २ करोड समेत लगानी गरी निर्माणाधीन अबस्थामा छ । गतबर्षको बाढीले परेवाभीर खण्डमा क्षति पु¥याएपछि यसपटक ठेकेदार कम्पनीले ठूला ठूला ढुंगा थुपारेर पानी रोक्ने प्रयत्न गरेको छ भने परेवाभीरको बिपरिततर्फ रहेको बगर र केही अग्लो भूभागलाई काटेर पानी बग्न सजिलो बनाइएको छ ।
‘यो बर्खामा खोलाले गर्ने कटानलाई समेत ध्यानमा दिई अब आउने हिउँदमा पूर्ण रुपमा परेवाभीर खण्डमा सडक निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ’, स्थानीयबासिन्दा समेत रहनु भएका सांसद ग्लानले भन्नुभयो । यसअघि ठेकेदार कम्पनीले काममा अलमल गरेको, कमसल काम गरेको भन्दै संसदमै सांसद ग्लानले बिषय उठान गर्नु भएको थियो । मनहरीलाइभबाट






