तामाङ पहिचानको ९०औँ दिवस आज मनाइँदै
भदौं, काठमाडौं – तामाङ समुदायले आज पहिचान दिवस मनाउँदैछन्। दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
९० औं पहिचान दिवसको अवसरमा सातौं तामाङ ज्ञान महोत्सव काठमाडौंमा भइरहेको छ। तिन दिने महोत्सवको अन्तिम दिन आज सरकारी सेवामा तामाङ, सांस्कृति र साहित्यलगायत विषयमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछ।
महोत्सव संयोजक निष्णु थिङ तामाङका अनुसार तामाङ मुक्तिको आन्दोलन विषयमा प्यानल छलफल हुनेछ। राज्यबाट तामाङ भन्न र लेख्न समेत बन्चित गराइँदै आएको तामाङहरुलाई तत्कालिन श्री ३ भिम शम्शेरले अब उप्रान्त तामाङ भन्न र लेख्न पाउने भनी वि.स. १९८९ भदौ ६ गते इस्तिहार जारी भएको दिनलाई तामाङहरुले पहिचान दिवस भनेर मनाउने गर्छन्।
त्यसअघि तामाङहरुलाई तामाङ भएपनि तामाङ नभनि लामा भोटे, मुर्मि आदि भन्ने गरिन्थ्यो। तत्कालिन अवस्थामा भारतमा पलायन हुन बाध्य पारिएका सरदार बहादुर जङ्वीर तामाङले बिन्तीपत्र चढाएपछि श्री ३ भिम शम्शेरले सीता महारानी (दिलकुमारी ब्लोन) को समेत आग्रहमा इस्तिहार जारी गरेको लिखित प्रमाण पाइन्छ।
‘नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामा भोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरु पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्यो हुँदो हो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासिब लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ। अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामा भोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम्।’ इस्तिहारमा उल्लेख छ ।
इस्तिहार जारी हुनु अघि तामाङहरुलाई जनाउने जात–थरका रूपमा ‘मुर्मी भोट्या’ भन्ने शब्द प्रयोग गरिन्थ्यो। ‘मुर्मी’ शब्दको प्रयोग खासगरी सरकारी अभिलेखहरूमा प्रशस्त पाइन्छन्। तामाङहरू आफूलाई नेपालका प्राचिन जाति भएको दावि गर्छन। गोर्खा राज्यको विस्तार अघि तामाङहरू काठमाडौं उपत्यकाका साथै वरिपरिका भू-भागहरुमा किपटहरु चलाएर बसेको इतिहास पाइन्छ।
काठमाडौंलाई याम्बु, भक्तपुरलाई खोपोङ र ललितपुरलाई हेराङ भनेर तामाङ भाषामा भन्ने गुर्नका साथै बौंद्धनाथ र स्वयंभुनाथलाई प्रमुख तीर्थस्थल मान्ने हुँदा तामाङहरुले काठमाडौं उपत्यकाको पुरानो जातिको रुपमा आफुहरुलाई लिने गर्दछन्। यो दाबीलाई रुसी प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ सटेन्कोले गरेको खोज–अनुसन्धानले पुष्टि गरेको तामाङ अगुवाहरुको भनाइ छ।
‘रुसको लेनिनग्राद विश्वविद्यालयका यी प्रागैतिहासिक पुरातत्वविद् डा. सटेन्कोले २०३४ माघ २ गतेदेखि चैत ११ सम्म नेपालमा पुरातात्विक अध्ययन गरेका थिए। अध्ययनका क्रममा उनले काठमाडौं उपत्यकाको बुढानीलकण्ठको दक्षिणपूर्वको धोबीखोलाको किनारमा केही पाषाण हतियारहरू फेला पारेको र अध्ययनबाट डा. सटेन्को काठमाडौं उपत्यकामा मानवबस्ती मध्यपाषाण युगदेखि चलिआएको निष्कर्षमा पुगे। पाषाणकालीन मंगोलियनहरू तिब्बत हुँदै नेपाल आउँदा काठमाडौंमा आइपुगेको देखा पर्छ।
‘हामी सबैभन्दा पुरानो बासिन्दा हौँ’ भन्ने तामाङहरूको धारणालाई यसबाट पुष्टि गर्ने आधार मिल्छ । उपत्यकामा बाहिरियाहरूको प्रवेश हुन थालेपछि तामाङहरू उपत्यकावरिपरिका भूभागतिर छरिएर रहन थाले ।’ पुरातात्विक अन्वेषणमा आधारित भएर पुरातत्वविद् जनकलाल शर्माले लेखेको पाइन्छ।






