प्रदेश सरकारले रासायनिक मल उद्योग र कृषि औजार कारखाना खोल्ने – मुख्यमन्त्री पाण्डे
भदौ, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी कानून चाँडै ल्याउने बताएका छन् ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा बागमती प्रदेशका नीति निर्मातासंग अन्तरसंवाद कार्यक्रम बुधबार हेटौंडामा उद्घाटन गरेपछि उनले प्रदेश सरकारले चाँडै रासायनिक मल उद्योग र कृषि औजार कारखाना हेटौंडामा खोल्ने तयारी भईरहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको भन्दै प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति तयार गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले कृषि तथा पशुपंक्षी क्षेत्रको विकासका लागि व्यवहारिक कानून तर्जुमा गर्न आफुहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रम फियान नेपालको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँगको समन्वयमा भएको थियो ।
फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उदेश्यसहित स्वागत गरेको कार्यक्रममा फियानको श्रव्यदृष्य (डकुमेन्ट्री)पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेशका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभुता सम्बन्धी अवधारणागत जानकारी, अधिवक्ता तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ र कार्यान्वयनमा प्रदेश सरकारको भुमिका र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कडेलले बागमती प्रदेशमा खाद्य सुरक्षाको अवस्था, प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालकी प्रदेश संयोजक लक्ष्मी गुरुङले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसदहरु प्रेमबहादुर पुलामी, मनु सिग्देल, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा, जिल्ला खाद्य अधिकार संजाल मकवानपुरकी सदस्य उर्मिला पुलामी मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका बक्ताहरुले कृषि र पशुपन्छीको क्षेत्रमा बजेट बढाउनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र संचालन गर्नुपर्नेमा जोड दिएका थिए । साथै, प्रत्येक घर परिवारले अनिवार्य तरकारीको विरुवा रोप्ने वा खेती गर्ने अभियान संचालन गर्नुपर्ने भन्दै खाद्य अधिकार सुरक्षित गर्न ‘खाना नफालौ’अभियान पनि संचालन गर्नुपर्ने बताउनुभएको थियो ।

राजकुमार केसी




