जसपा बागमती प्रदेशको अध्यक्षमा जय गोले
भदौं, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को वाग्मती प्रदेश समितिको अध्यक्षमा जय गोले तामाङ चयन भएको छ ।
राजनीतिक समितिका सदस्य कृष्ण ध्वजुको अध्यक्षमा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा गोलेको नेतृत्वमा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । प्रदेश समितिमा ७ जना उपाध्यक्ष, एक मुख्य सचिव, पाँच जना सचिव चयन भएका छन् ।
यस्तै कोषाध्यक्ष केही समयमा नियुक्ति गरिने गरि खाली राखिएको नवनियुक्त अध्यक्ष गोले बताउनुभयो । घोषणासभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष उपेन्द्र यादवले गठबन्धनलाई सहयोग गर्दै मंसिर ४ को निर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
वरिष्ठ नेता एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नयाँ समितिलाई शुभकामना व्यक्त गर्नुहुँदै सक्रियरुपमा पार्टी गतिविधिमा लाग्न निर्देशन दिनुभयो । नवनियुक्त अध्यक्ष तामाङले जसपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सक्रिय भूमिकामा आफू पनि लाग्ने र समिति पदाधिकारी तथा सदस्यहरूलाई पनि लाग्न आग्रह गर्नुभयो ।
बागमती प्रदेशमा जसपालाई सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आसन्न निर्वाचनमा पार्टीलाई स्थापित गराउन सांगठनिक विस्तार गर्ने पनि उहाँले बताउनुभयो । राजनीतिक समिति सदस्य लालबहादुर तामाङले सञ्चालन गर्नुभएको घोषणासभामा जसपाका केन्द्र, प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।






