हेटौंडाका जनप्रतिनिधिको सय दिन पुरा, निशुल्क खानेपानीदेखि रक्तसेवा
भदौ, हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको सय दिन पूरा भएको छ । मीनाकुमारी लामाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उपमहानगरले सय दिनको अवधिमा आफूहरुले नगरबासीलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउनेदेखि नगरबासीलाई निशुल्क रक्त सेवा उपलब्ध गर्नेसम्मको काम गरिएको जनाएको छ ।
मेयर मीनाकुमारी लामाले पत्रकार सम्मेलनमा १९ बुँदामा सय दिने उपलब्धी सार्वजनिक गरिन् । आफूहरुको कार्यकाल सुरु भएपछि अति विपन्न एक हजार पाँच सय ४१ परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने प्रक्रिया सुरु गरिसकेको समेत मेयर लामाले बताइन् ।
तीन पाङ्ग्रे सवारी र पार्किङ व्यवस्थापन गर्ने सबालमा स्टिकर टाँस गर्ने अभियान सुरु गरिएको र हालसम्म एक हजार पाँच सयभन्दा बढी तीन पाङ्ग्रे सवारीमा स्टिकर टाँसिएको उपमहानगरपालिकाले जनाएको छ ।
भूमि व्यवस्थापनको लागि जग्गा वर्गीकरण कार्यदल गठन भई गरी सबै वडामा छलफलपश्चात स्थानीय भूउपयोग परिषद्मा पेश गरिएको पनि जनाइएको छ । टोल विकास संस्थाहरुको अगुवाईमा प्रत्येक शनिबार वडा तथा बस्ती तहमा सफा हेटौंडा अभियान थालिनुलाई उपमहानगरपालिकाले अर्को उपलब्धीको रुपमा लिएको छ ।
हटिया र पदमपोखरी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरिएको, सडकबीचमा परेका पोल सार्ने प्रक्रिया थालिएको, इन्जिनियरिङ कलेज स्थापनाको पहल थालिएको जस्ता उपलब्धी पनि आफ्नो कार्यकाल सुरुभएयता गरिएको मेयर लामाले बताइन् ।
नक्सा पास नगरी वा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचाना हटाउनको लागि कार्यदल गठन गरिएको पनि जनाइएको छ । फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि डम्पिङ साइटको खोजी तथा फोहोर व्यवस्थापन मोडालिटी तयार गर्न कार्यदल गठन गरिएको पनि उपमहानगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा उपमेयर राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने लगायत वडाध्यक्षहरुका उपस्थिति रहेको थियो ।






