सडक स्तरीकण नभएपछि आन्दोलनको तयारी
भदौ, हेटौंडा – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कालोझण्डा देखाएर आन्दोलन गर्ने भएको छ । हेटौंडा उपमहानगरविरुद्ध कालो झण्डा बोकेर आन्दोलन गरिने नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस समिति सभापति सन्तोष चौलागाईंले बताए ।
नेवि संघले उपमहानगरपालिका समक्ष भदौ १० गते बिभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा शैक्षिक संस्था समेत रहेको मानसचोक देखि मनकामना चोक सम्मको बाटोमा सवारी पार्किङ व्यवस्थापन र नाजुक सडक स्तरीकण माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउदै नेवि संघले ३ दिनभित्र सडकको अवस्था सुधार सहित पार्किङ व्यवस्था गर्न माग गरेको थियो ।
उपमहानगर उपप्रमुख राजेश बानियाले तीज सकिए लगत्तै काम सुरु गर्ने बताए पनि काम सुरु गर्ने संकेत नदेखिएकाले नेवि संघ यथाशीघ्र आन्दोलनमा उत्रने सभापति चौलागाईंले चेतावनी दिए ।
उनले सम्बन्धित विषयमा उपमहानगरपालिकाले नेवि संघलाई कुनै आधिकारिक जानकारी नदिनु विज्ञप्तिको अवज्ञा गरेको बताएका छन् । उपमहानगरपालिकाको विज्ञप्तिको अवज्ञा गर्दा नेवि संघको आन्दोलनबाट हुनसक्ने क्षतिको जिम्मेवार उपमहानगरपालिका हुने उनले बताए ।

भुवन घलान




