किरात देवास राईको पाँचौ राष्ट्रिय अधिवेशन हेटौंडामा यहिँ २५ र २६ गते हुँदै
भदौ, हेटौडा – किरात देवास राई उत्थान समाज नेपालको पाचौं राष्ट्रिय अधिवेशन मकवानपुरको हेटौंडामा हुने भएको छ । अधिवेशन यही भदौ २५ र २६ गते हेटौडाको रोयल प्यालेसमा हुने भएको हो ।
जातीय पहिचान, संस्कृति र भाषाको संरक्षणको काम गर्दै आएको समाजले सम्मेलनमा यिनै विषयमा व्यापक छलफल गर्ने अध्यक्ष आसमान राईले जानकारी दिए । राज्यका कुनै पनि तहमा किरात देवास राईको प्रतिनिधित्व नरहेको भन्दै उनले अधिकार प्राप्तिको विषयमा पनि सम्मेलनमा बहस हुने बताए । सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।
नेपालमा राईहरुको जनसंख्या ६ लाख भन्दा बढी छ भने किरात देवास राईहरुको जनसंख्या १ करिब लाख रहेको छ । देवास राईहरुको बागमती प्रदेश अन्तर्गतको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, सिन्धुली, रौतहट लगायतका जिल्लाहरुमा सघन बसोबास रहेको छ l त्यस्तै काठमाडौं, ललितपुर, बारा लगायतका जिल्लाहरुमा समेत बसोबास रहेको छ l
यही भदौ २५ गते शनिबार अधिवेशनको उद्घाटन कार्यक्रममा एक हजार देवास राईहरुको सहभागिता रहने र २६ गते शुक्रबार हुने बन्द सत्रमा २ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने महासचिव राजमान राईले जानकारी दिए । बन्द सत्रमा प्रगति प्रतिवेदन र आगामी कार्ययोजनाको विषयमा समेत छलफल हुनेछ ।

बिशालराज राई




