थाहा नगरपालिकाको वार्षिक समिक्षा सम्पन्न
भदौ, हेटौडा (थाहानगर) – उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले २४ भाद्रमा नयाँगाउँ स्थित पाइनस होटलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो ।
थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, वडा अध्यक्षहरु तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक विकासको अनिल लामिछाने, कृषि सम्बन्धी शाखा प्रमुख संजय तिवारी, पशु शाखाको राघवेन्द्र मिश्र, शिक्षा शाखाको माधव विक्रम मल्लले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा अन्य शाखाहरुको पनि शाखा प्रमुख र सबै १२ वटै वडाको वडा सचिवहरुले वार्षिक कार्यक्रम र सेवा प्रवाहको विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुख र ५ नम्बर वडाध्यक्ष विष्णु बहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद दिए । काफ्ले अब अर्ध वार्षिक समिक्षा समेत गरिने बताए ।
समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औल्याउने भएकोले पालिका र वडाको काममा थप उर्जा दिने बताए । नगर प्रमुख विष्णु विष्टले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धीलाई संस्थागत गर्दै थप उपलब्धीका लागि योजना मद्दत गर्ने बताए ।







