आदिवासी जनजाति समूदायको लागि तीनै तहका सरकारले विशेष योजना ल्याउनु पर्ने – राज्यमन्त्री प्रजा
भदौ, हेटौडा – बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संविधानले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई सुरक्षित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।
किंरात देवास राई उत्थान समाज नेपालको हेटौंडामा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजाले आदिवासी जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समूदायको हितका लागि तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयनको चरणमा लैजानुपर्ने औंल्याए । राज्यमन्त्री प्रजाले यथास्थितिबादीहरुको भेदभावपूर्ण व्यवहारका कारण आजपनि समानताको उद्देश्य पूर्ण रुपमा पुरा नभएको बताए ।
विभिन्न जातजातिको लागि भाषा, भेषभूसा, कला तथा संस्कृति ठूलो सम्पती भएको उल्लेख गर्दैै उनले त्यसको संरक्षण र संस्थागत गरिनुपर्ने बताए । बागमती प्रदेश सरकारले भाषा आयोग गठन गरिसकेको बताउँदै उनले भाषा तथा लिपीको विकास गरिनेसमेत बताए ।

समाजका केन्द्रीय अध्यक्ष आस्मान राईको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव प्रेम राई र जिल्ला शाखा अध्यक्ष बद्रिबहादुर राईले समुदायको हितका लागि समुदायस्तर र राज्यपक्षबाट पहल आवश्यक रहेको बताए । देशका विभिन्न जिल्लामा बसोबास गर्ने देवास राईहरुको सहभागिता रहेको थियो।
किरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिब जनक राई, केन्द्रीय सल्लाहकार प्रेम राई, किरात देवास राई उत्थान समाजका मकवानपुर अध्यक्ष कृष्णबहादुर राई लगायतकाको आतिथ्यता रहेको थियो ।
अधिवेशनको पहिलो दिन शनिवार झाँकीसहितको राई समुदायको पहिचान झल्कने नाचगान सहित बजार परिक्रमा गरिएको थियो ।







