गाँजा विधेयक ल्याएर जेल परेकालाई छुटाउँछौँ – ईन्द्रबहादुर बानियाँ

तामसालिङ खबर
२४ कार्तिक २०७९, बिहीबार २१:०८

कार्तिक, हेटौंडा (कैलाश) – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गाँजा विधेयक ल्याएर ओसारपसारमा जेल परेकालाई छुटाउने बताएका छन् ।

गठबन्धनले कैलाश ३ र ४ मा आयोजना गरेको सभालाईलाई बिहिबार सम्बोधन गर्दै बानियाँले गाँजा ओसारपसारको मुद्धामा जेल सजाय भोगिरहेकाहरुलाई छुटाउने    बताए । उनले गाँजालाई विश्व स्वास्थ्य संगठनले औषधि मूलक वनस्पती भनिसकेको अवस्थामा गाँजा प्रशोधन गरी विदेश निर्यात गर्न सके मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।

उनले गठबन्धनको सरकार बनेपछि बागमती प्रदेशमा ५ वर्षको अवधिमा १० हजार घर बनाई गरिब तथा निमुखालाई हस्तान्तरण गरिने बताए । उनले भने, ‘हाम्रो राजनीति एमाले र राप्रपासंग छैन, हाम्रो राजनीति गरिब, पिछडिएका, लोपोन्मुख चेपाङ, भुजेल, तामाङ जनताजीहरुको विकास, समृद्धि, उत्पादन, रोजगारीको व्यवस्था गर्नुमा छ ।’

उनले नेकपा एमाले सरकारमा छँदा संविधान र व्यवस्था माथि नै आक्रमण गरेको भन्दै प्रतिगमनकारीहरुलाई अब यो निर्वाचनबाट परास्त गरिने बताए । उनले यो चुनाव संविधान बचाउने र सिध्याउन खोज्नेबीच भएको बताए ।

प्रदेशमा गठबन्धनको सरकार बनेको १० महिनामै कैलाशमा मात्रै २२ करोड भन्दा बढी रकम सडक, खानेपानी तथा पूर्वाधार निर्माणको लागि विनियोजन गरिएको बताउँदै आगामी दिनमा पनि सो क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

लोकतान्त्रिक बाम गठबन्धन कैलाश ३ का चुनाव प्रचारप्रसार समितिका संयोजक देवलाल बलको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य राजाराम स्याङ्गतान, कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य बीरबहादुर घलान (ज्वाला), जिल्ला सचिब भिम पाख्रिन सहित गठबन्धनका विभिन्न दलका नेताहरु कपिलबहादुर लामा, सन्तबहादुर प्रजा, राजेन्द्र घिसिङ, लोकबहादुर मुक्तान, पदमबहादुर तितुङ, तिलक मुक्तान, टंकबहादुर मुक्तान, खुशीलाल चेपाङ,सीता पुलामी र लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*