पोल गाडेको ४ बर्ष भैसक्दा पनि कैलाश ४ मा अझै बिजुली बत्ति बलेन
मंसिर, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिका ४ का मानिस बिजुली बालेर घर उज्यालो बनाउने आशमा छन् । पोल गाडेको ४ वर्ष भइसक्दा पनि सो क्षेत्रमा अझै बिजुली बल्न सकेको छैन । अहिले यहाँ करेन्टविनाको विद्युतलाइन विस्तार भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७५ पोल वितरण गरेको थियो । तर ति पोल मात्रै गाढिए लाइन विस्तार पनि भयो तर विद्युत प्रवाह हुन सकेको छैन
विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाले ठेकेदार कम्पनी मार्फत पोल पु¥यायो तर समयमै काम सम्पन्न हुन सकेन । वरिपरिका वडामा बिजुली झलमल्ल बलिसक्दा पनि यहाँ बिजुली नबल्दा ४ नम्बर वडा बत्ती मुनिको अँध्यारो हुन भएको छ ।
४ नम्बर वडा भएर जानुपर्ने वडा नम्बर ३ मा बिजुली बत्ती बलिसक्दा पनि ४ नम्बर वडामा भने अझैसम्म पनि बिजुलीबाट बञ्चित छ । यस वडामा विद्युत लाइन विस्तारका लागि २०७५ सालबाट काम सुरु भएको हो । तर अझैसम्म पनि विद्युतीकरणका काम सकिएको छैन ।
यस सम्बन्धमा वडाध्यक्ष तिलक मोक्तानले ३ नम्बर मा गाउँपालिकाले नै टेन्डर गरेकाले चाँडो बत्ती बालेको बताउनुहुन्छ । यस सम्बन्धी कुरा वडा कार्यालयमा सरोकार नराख्ने भएकाले काम किन ढिलासुस्ती भएको हो भनेर आफूले जवाफ दिन नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘वर्षाका कारण बाटोको समस्याले सामान ल्याउन समेत असजिलो भएकाले काम हुन नसकेको हुन सक्छ ।’ अब तार टाँग्ने काम सकिएकाले ट्रान्समिटर राखिसकेपछि विद्युत छाड्न सक्ने आफूले जानकारी पाउको बताउनुभयो ।
विद्युत लाइनको ठेका लिएका ठेकेदार सैलेश श्रेष्ठले दसैँ अगाडि नै बत्ती आउने बताए पनि निर्वाचन सकिने बेलासम्म पनि विद्युतको काम नसकिँदा स्थानीय बासिन्दा चिन्तित भएका छन् । निर्वाचन अगाडि नै उज्यालोमा बस्न पाउने सपना पूरा नहुने भएको छ । सरकारी ढिलासुस्ती र आलस्यका कारण काम समयमै हुन नसकेको स्थानीयको आरोप छ ।
गाउँपालिका अध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरुले पनि यस विषयमा कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ । वर्षा सकिएको लामो भइसक्दा पनि अझै बाटोको मर्मत हुन सकेको छैन । जसले गर्दा काम समयमै सम्पन्न हुन नसकेको बताइन्छ ।
नेपालमा सरकारी काम कहिले जाला घाम गर्ने कर्मचारीका कारण जनसरोकारका कुनै पनि काम समयमै सम्पन्न हुन नसकेका उदाहरण प्रशस्त देख्न सकिन्छ ।
ठेकेदार कम्पनीले ठेक्का लिएको काममा लापरबाही गर्ने गरेका छन् । उनहरुले समयमै कुनै पनि पूरा गर्देनन् । ठेकेदार कम्पनीलाई दवाव दिन कुनै निकाय सक्दैनन् । कर्मचारीतन्त्र ठेक्का लिने ठेकेदारसँग कमिसन कुम्ल्याउँछ र कानमा तेल हालेर बस्छ । जनताले गुनासो लिएर गए सुनेको नसुन्यै गरिदिन्छ । विभिन्न बाहना बनाएर पन्छिने काम गर्छ ।
जनप्रतिनिधिहरुको भूमिका अलि बढी प्रभावकारी हुन सक्थ्यो तर यस्ता काममा जनप्रतिनिधि पनि मौन बसिदिँदा ठेकेदारलाई पनि हाइसन्चो भएको छ । मकवानपुरको विकट गाउँपालिका भए पनि कैलाश ४ स्रोत र साधनका दृष्टिले समृद्ध वडा हो । यस वडामा सुन्तला खेती प्रशस्त मात्रा हुन्छ । धेरै स्थानीय बासिन्दाको आयाआर्जनको मुख्य स्रोत पनि सुन्तला खेती रहेको छ । यहाँका एक जना किसानले मात्र बर्सेनि लाखौँको सुन्तलाको व्यापार गर्ने गर्छन् ।
यसैगरी ऋद्धिसिद्धि सिमेन्टको ढुङ्गा खानी पनि यसै वडामा छ । यसबापत गाउापालिकाले कर असुली गरिरहने तर यहांको विकासको बारेमा कुनै चासो नराखिदिँदा स्थानीय बासिन्दा आक्रोसित छन् । – निगरानी अनलाईनबाट






