पौष २३ गते मनहरी बहुमुखी क्याम्पसको क्याम्पस सभा हुने
पौष, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित मनहरी बहुमुखी क्याम्पसको क्याम्पस सभा यहि पौष २३ गते हुने भएको छ ।
क्याम्पस सञ्चालक समितिको बुधवार बसेको बैठकले यहि पौष २३ गते सभा गर्ने निर्णय गरेको हो। व्यवस्थापनमा कमजोरी भएपछि बिगत २ महिनादेखि क्याम्पसको पठनपाठन ठप्प भएपछि सरोकारवालाहरु सहित क्याम्पस सञ्चालक समितिको बैठक बुधबार बसेको थियो ।
बैठकमा निवर्तमान सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाअध्यक्षहरु, क्याम्पस सञ्चालक समितिका सदस्यहरु, पूर्वअध्यक्षहरु तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
बैठकमा सरोकारवालाहरुले तत्कालै क्याम्पस सभा बोलाइनुपर्ने, क्याम्पसको दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन गरिनुपर्ने, क्याम्पसलाई राजनीतिबाट मुक्त गरिनुपर्ने लगायतका सुझावहरु दिएका थिए । आर्थिक स्रोत व्यवस्थापनका सन्दर्भमा गाउँपालिकाको मात्रै भर नपरी दीर्घकालीन सोच बनाएर बार्षिक योजना निर्माण हुनुपर्नेमा सरोकारवालाहरुले नेतृत्वका ध्यानाकर्षण गराएका थिए ।
गाउँपालिकाको अधिकार क्षेत्र नभए पनि गाउँपालिका भित्रको एक मात्र बहुमुखी क्याम्पसलाई सहज ढंगले सञ्चालन गर्न पूर्ण रुपमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।






