हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
पुष, हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ । संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले महोत्सवको बारेमा जानकारी दिनुभएको हो ।
यहि माघ ११ गतेदेखि २३ गतेसम्म हुने महोत्सवले मकवानपुर जिल्लाको रोजगारी, कृषि, पर्यटन, व्यापार क्षेत्रको विकासमा टेवा पुग्ने अध्यक्ष अग्रवालले बताउनुभयो । महोत्सवमा स्थानीय उद्योगी, व्यवसायीले उत्पादन गरेको वस्तुलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । ३ सय वटा स्टल हुने महोत्सव हेटौंडा-१०, टिसिएन चौरमा हुनेछ ।
स्थानीय तथा राष्ट्रिय कलाकारको आकर्षण हुने महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, व्यावसायिक गोष्ठी तथा सेमिनार, अटो, घरजग्गा तथा हाउजिङ, खाना तथा साँस्कृतिक मेला सहित हेलिकप्टर टुर समेत रहने अग्रवालले बताउनुभयो । व्यापार महोत्सव आयोजनाका लागि संघले स्थानीय सरकार सँग अनुमति समेत लिइसकेको जनाएको छ ।






