बागमती गाउँपालिकामा ३० जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण
पुष, हेटौडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच पालिका कार्यालय झुरझुरेमा वडा नम्बर ४ को २८ जना र वडा नम्बर ५ को २ जना गरि ३० जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
जग्गाधनी लालपुर्जा वितरण गर्दै कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले हिजो जनताकै अधिकारका लागि लडेर आएकाले नै फलस्वरुप जनताले अहिले हातहातमा पुर्जा पाउन सफल भएको बताउनु भयो । यो समस्या बागमती गाऊँपालिकाको मात्र नभएर अरु पालिकाको पनि भएकोले तालुक अड्डाहरुले यथासिघ्र काम गर्न समेत उहाँले सुझाउनुभयो ।

त्यस्तै, बागमती प्रदेशका सांसद प्रेम बहादुर पुलामीले स्थानिय सरकार देखी संघ सम्मको सहकार्यको परिणामले पुर्जा बितरण सहज भएको उहाँले बताउनु भयो । घर-घरमा सिंहदबार भन्ने नाराले यस कार्यक्रमले पूर्णता पाएको उल्लेख गर्नु भयो ।
पुर्जा कार्यक्रमका सभाध्यक्ष बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाका १० हजार भूमिहिन, सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न बाँकी रहेको बताए । उनले ८ हजार पुर्जा तयारी अवस्थामा रहेको तर, स्थानीय र प्रतिनिधि/प्रदेश निर्वाचनले गर्दा ढिलाई भएकाले १७ पुसमा ३० जनालाई मात्र वितरण गरिएको उनको भनाई छ । उनका अनुसार पुर्जा विरतणलाई निरन्तरता दिइनेछ ।
देशैभर भूमिहिन सुकुम्बासीलाई पुर्जा वितरण भएको जिल्लामा मकवानपुर र चितवन रहेको छ । मकवानपुर जिल्लामा पनि बागमती गाउँपालिकामा यसको सुरुवात भएको छ । यसअघि पालिकाले २०७८ साल चैतमा ३ जनालाई पुर्जा वितरण गरेको थियो । यो समेत गरेर हालसम्म पालिकाका ३३ जनाले पुर्जा पाएका छन् ।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष विष्णु दाहाल र नीति तथा योजना आयोग बागमती प्रदेश सदस्य प्रल्हाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।









