बागमती प्रदेशसभामा उपसभामुखको लागि तीन जनाको मनोनयन दर्ता

तामसालिङ खबर
३० पुष २०७९, शनिबार ०७:३६

पुष, हेटौडा – बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिएका थिए ।

सोही निर्देशन बमोजिम प्रमुख सचिव खड्काले समय तालिका सार्वजनिक गरेका हुन् । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले शुक्रबार अपराह्नमा आ-आफ्नो मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउनेमा तीनै जना महिला रहेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उपसभामुख पदको उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका  छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट गीता काफ्लेले उपसभामुख पदको उम्मेदवार दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*