स्थानीयको चर्को विरोधपछि बेचेको एम्बुलेन्स फिर्ता ल्याउँदै समिति (भिडियो सहित)

तामसालिङ खबर
१ माघ २०७९, आईतवार २०:४७

माघ, सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ परवानीपुरमा सामुदायिक प्रयोजनका लागि भन्सार छुटमा खरीद गरिएको एम्बुलेन्स सञ्चालक समितिले सुटुक्क विक्री गरेको भन्दै स्थानीयले आक्रोश भएका छन्।

स्थानीय सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल परवानीपुर नामक संस्था मार्फत् सञ्चालन भइरहेको एम्बुलेन्स गाउँलेलाई थाहै नदिईकन सुटुक्क विक्री गरेको भन्दै स्थानीयले अहिले समितिसँग एम्बुलेन्स कहाँ छ ? भनेर खोजीविन सुरु गरेका हुन् । उनीहरुले गाउँको एम्बुलेन्स कहाँ छ ? भनेर सोध्दा र हिसाव किताब खोज्दा समितिका मान्छेहरु झर्किने रिसाउने गरेको सञ्चारकर्मी माझ दुःखेसो पोखेका छन् ।

जसरी पनि एम्बुलेन्स ल्याई स्थानीयलाई सेवा दिनुपर्ने उनीहरूको तर्क छ । ‘हामीले खाई नखाई, खसी, बाख्रा, कुखुरा र बर्षभरी खाने अन्न बेचेर जम्मा गरेको पैसाले किनेको एम्बुलेन्स कहाँ छ, भनेर सोधीखोजी गर्दा समितिका केही मान्छेहरु रिसाउँछन्, झर्किन्छन् । हामीलाई जसरी पनि एम्बुलेन्स ल्याईदिनु प¥यो । हाम्रा विरामीहरुले एम्बुलेन्स खोज्न अन्यत्र जान नपरोस् ।’ स्थानीय रुद्र बहादुर बुढाथोकीले भने ।

अर्का स्थानीय युवा भोजराज दाहालले त समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको नामै लिएर उनीहरुले नै यहाँका सबै राजनीतिक दलहरुसँग मिलेर एम्बुलेन्स बेचेर खाएको दाबी गरे । उनले भने ‘समुदायलाई सेवा दिन किनेको एम्बुलेन्स समितिका मान्छेहरुले बेचेर खाए ।’ एम्बुलेन्स बेचेको पैसा समितका मान्छेहरुले आलोपालो चलाउने गरेको उनको दाबी छ ।

त्यस्तै स्थानीय युवाहरु ललित जिम्वा र सुगम दोङ्गले पनि एम्बुलेन्स कहाँ छ भनेर आफूहरुलाई पनि थाहा नभएको तर समितिका मान्छेले बेचे रे भन्ने सुनेको बताए । उनीहरुले समुदायको सम्पतिको खोजी गर्नु समुदायको दायित्व भएको बताए । तर समितिले भने स्थानीयको आरोपको खण्डन गर्दै आफूहरुले एम्बुलेन्स नबेचेको दाबी गरेको छ ।

समितिका अध्यक्ष गोविन्द अधिकारीले आफूहरुले एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि पछि फिर्ता ल्याउने शर्तमा स्थानीय सरोज खड्कालाई ३ लाख ७५ हजारमा जिम्मा दिएको बताए । तर सरोज खड्काले भने दुई थरीको कुरा हामीलाई बताएका छन् ।

सुरुमा उनले आफूले एम्बुलेन्स किनेको बताएका थिए भने पछि भाडामा चलाएको दाबी गरे । उनले पनि किनेको ६ महिनामा नै लालबन्दी १७ रानीगञ्जका दिनेश योन्जनलाई ५ लाख २० हजारमा बेचेको बताए । उता दिनेश योन्जनले पनि सरोज खड्काले जस्तै दोहोरो कुरा बताएका छन् । उनले सुरुमा आफूले बकाईदा कागज गरेरै एम्बुलेन्स किनेको भनेपनि पछि भने समितिले माग्दा फिर्ता दिने शर्तमा चलाएको बताए । उनले

आफूले सरोज खड्काबाट ५ लाख २० हजारमा एम्बुलेन्स किनेको र थप ५ लाख ९१ हजार खर्च गरेर मर्मत गरेर चलाई रहेको बताए । उनले आफ्नो लागेको पैसा दिए एम्बुलेन्स फिर्ता गर्ने पनि बताए । समितिका अध्यक्ष अधिकारीले चौतर्फी विरोध हुन थालेपछि एम्बुलेन्स फिर्ता ल्याउने विषयमा समितिमा छलफल गर्न लागेको बताएका छन् । उनले भने, ‘हामीले एम्बुलेन्स बेचेका छैनौं । समुदायको सम्पति हामीले विक्री गर्न सक्दैनौं ।

सञ्चालन गर्न नसकेपछि समुदायकै मान्छेलाई चलाउन दिएका छौं । गाउँलेले एम्बुलेन्स कहाँ छ भनेर प्रश्न गरेपछि हामीले अब एम्बुलेन्स जसरी नि फिर्ता ल्याउने तयारी गरिरहेका छौं ।’ तर अधिकारीको कुरामा पनि सत्यता भने भेटिँदैन उनले सरुमा बार्षिक १ लाख रुपैयाँ भाडामा चलाउन दिएको भनेका थिए । तर पछि कुरा फेर्दै पछि फिर्ता ल्याउने शर्तमा चलाउन दिएको दाबी गरे ।

यता वडा नम्बर १५ का वडाअध्यक्ष गोरख बहादुर बलले समितिले सञ्चालन गर्न नसकेपछि सुरुमा विक्री नै गर्न खोजेको तर विक्री गर्न नमिल्ने भन्ने थाहा पाएपछि गाउँकै मान्छेलाई बनाएर चलाउनु भनेर पौने ४ लाखमा दिएको बताए । उनले समितिलाई एम्बुलेन्सका विषयमा छलफल डाक्न भनेको पनि उनले बताए । उनले एम्बुलेन्स सञ्चालक समितिको मिटिङ्ग तय भइसकेकोले छलफल पछि मात्रै थप कुरा जानकारी गराउने बताए ।

यता समितिकी कोषाध्यक्ष पर्मीला केसीको भने, स्थानीयले एम्बुलेन्सको खोजी गर्न थालेपछि आक्रोशित भएकी छन् । उनले एम्बुलेन्सको विषयमा जान्न खोज्ने स्थानीयलाई मात्रै नभई पत्रकारलाई समेत थर्काउने गरेको पाइएको छ ।

स्थानीय युवाहरुले एम्बुलेन्स कहाँ छ ? एम्बुलेन्स बेचेको पैसा के भो ? भनी प्रश्न गर्दा, बैंकमा छ भने पनि उनी आफैले पनि एम्बुलेन्स बेचेको पैसा चलाएको स्थानीयले दाबी गरेका छन् । उनी मात्रै हैन एम्बुलेन्स बेचेको पैसा हालका अन्य पदाधिकारीले समेत चलाएको स्थानीयले दाबी छ ।

यस्तो छ एम्बुलेन्सको कथा
परवानीपुरमा एम्बुलेन्सको आवश्यकता भएपछि स्थानीयले २०६७ सालमा श्रीमद भागवतको आयोजना गरे । श्रीमद भागवतबाट खर्च कटाएर झण्डै १८ लाख पैसा जम्मा भयो । त्यसपछि एम्बुलेन्स खरीद, सञ्चालन र व्यवस्थापन गर्न सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल परवानीपुर नामक संस्था गठन भयो । संस्थाले लगतै २०६८ सालमा भन्सार छुटसहित १० लाखमा एम्बुलेन्स खरीद ग¥यो ।

१८ लाख मध्ये १० लाखमा एम्बुलेन्स किनेपछि बाँकी रहेको पैसा कहाँ छ समितिले केही स्पष्ट बताएको छैन । तर स्थानीयको भनाई अनुसार ४÷५ लाख जति पैसा भागवतको समयमा कबुल गरेकाहरुले अझै दिएका छैनन् । समितिले झण्डै ५÷६ वर्ष जति एम्बुलेन्स सञ्चालन ग¥यो ।

त्यसक्रममा चालकले लापरवाही ढंगले चलाउने गरेको कारण एम्बुलेन्स विग्रीयो । कहाँसम्म भने चालकले एम्बुलेन्समा ग्याँस सिलिण्डर, सिमेन्टका बोरा र यात्रीसमेत ओसार्ने गरेको स्थानीय बताउँछन् । उनीहरुले समितिले निगरानी नगरेको कारण चालकले लापरवाही गरेको आफूहरुले बुझेको बताए ।

एम्बुलेन्स किनेका सुरुका वर्षहरुमा राम्रो सँग चलेको र त्यही पैसाले परवानीपुरमा १४ धुर जग्गा समितिले किन्न सफल भएको समितिका पदाधिकारीहरुले बताएका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*