टुडिखेलमा हुने तामाङ समुदायको सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी पुरा

तामसालिङ खबर
५ माघ २०७९, बिहीबार १८:३६

माघ, काठमाडौं – तामाङ समुदायले यस वर्षको सोनाम ल्होछारको अवसरमा टुँडिख‍ेलमा तिन दिन सम्म संस्कृतिक महोत्सबको तयारी पुरा भएको छ ।

यहि माघ ६, ७ र ८ गते तामाङ गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू साथमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुतिसहितको ल्होछार महोत्सव हुने सोनाम ल्होछार २८५९ ह्योअी-तावर ल्होछार मूल समारोह समितिले बिहीबार चुच्चेपाटीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ल्होछारको मुख्य दिनको समारोह उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुनेछ ।

सोनाम ल्होछार पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८५९ “ह्योयी / तावार ल्हो” (विरालो वर्ष) हो । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ लगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै सोनाम ल्होछार पर्वलाई काठमाडौंको टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी ल्होछार समारोहलाई सम्पन्न गर्दै आएको छ ।

२०७६ सालदेखि २०७८ सालसम्म कोभिड – १९ बाट सिर्जित लकडाउनका कारण ल्होछार पर्वलाई भव्यताका साथ मनाउन नपाएको हुँदा यस वर्ष संसारभरका तामाङ दाजुभाई तथा दिदीबहिनीहरूको विशेष अनुरोधमा विशेष खालको नै तयारी गरिएको नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम तयारीका लागि सांस्कृतिक उपसमिति, र्‍याली तथा झाँकी उपसमिति, प्रचार प्रसार उपसमिति, सम्मान तथा पुरुस्कार छनौट समिति, मञ्च सजावट उपसमिति लगायत विभिन्न समितिहरु गठन गरिएको छ ।

ल्होछारको अवसरमा यसपटक ‘सोनाम ल्होछार २८५९ लाई भव्य रुपले सफल पारौं, ग्रेन से दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौं’ नारा तय गरिएको छ । नेपाल तामाङ घेदुङको संघीय कार्यालय खरिदका लागि आर्थिक संकलन अभियान पनि जारी छ ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सीता लामा, कार्यवहाक महासचिव जगतमान लामा दोङलगायत घेदुङका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*