हेटौडाको टिसिएन चौरमा हुने सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी पुरा

तामसालिङ खबर
६ माघ २०७९, शुक्रबार २१:४४

माघ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा भोलि देखि हुने सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी पुरा भएको छ । शनिबार भोलि माघ ७ र ८ गते आइतबार २ दिनसम्म हेटौडा १० स्थित टिसिएन चौरमा सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी पुरा भएको हो ।

तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ (जल/स्त्री) ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र मकवानपुर तामाङ कलाकार संघ लगायत जिल्लाका विभिन्न संघसस्थाको सहयोगमा महोत्सब हुने भएको छ ।

भोलि शनिबार हुने उदघाटन सत्रमा बागमती प्रदेश सभा सदस्य तथा निबर्तमान सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा महोत्सबको समुद्घाटन हुने आयोजकले जनाएको छ। पहिलो दिन गायक लोकेन लामा, गायक तथा संगीतकार अशोक तामाङ, साम्तेन लामा, सोयल थिङ, बालिका तामाङ लगायतको मकवानपुर कलाकार संघको सांगीतिक प्रस्तुति रहने कलाकार ब्यबस्थापन समितिको संयोजक बिक्रम लुङ्गबाले जानकारी दिनु भयो। शनिबार साँझ लामा गुरुबाट बाह्र वटा जीवजन्तुको संकेत बनाई छोग पुजापाठ गरि बाघ बर्गलाई बिदाई गर्दै बिरालो बर्गलाई स्वागत गरिने कार्यक्रम रहेको छ ।

महोत्सबको दोस्रो दिन ल्होछारको मुख्य दिन हेटौडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा हुनेछ । त्यस दिन गायक तथा संगीतकार टिका बमजन, गायक धिरेन लामा, अविराम मोक्तान, सुजना रुम्बा, बिमला थिङ, लगायत मकवानपुर तामाङ कलाकार संघको प्रस्तुति रहने संयोजक लुङ्गबाले जनाएको छ ।

तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको घेदुङले यस बर्ष ‘सोनाम ल्होछार-२८५९ भव्य रुपले सफल पारौं, ग्रेन गे धिम (भवन) खरिद अभियानलाई पुरा गरौँ ।’ भन्ने अभियानलाई सार्थकता दिनको निम्ति केन्द्रित रहेको जिल्ला घेदुङका कार्यबाहक अध्यक्ष एवम् ल्होछार महोत्सबको संयोजक कालु घलानले बताउनुभयो ।

दुई दिन सम्म चल्ने महोत्सबको आकर्षणहरुमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, मौलिक डम्फुरे गीत प्रस्तुति, तामाङ भेषभूषा र मौलिक खाना संगै अन्य खानाका स्टलहरु सहित भाग्यशाली उपहारको कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, कलाकार संघबाट हुने भाग्यशाली उपहार कार्यक्रम माघ ८ ल्होछारको मुख्य दिनमा हुने छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने महोत्सबको अर्को संयोजक एबम् संघको अध्यक्ष धिरेन लामाले बताउनु भयो ।

यस वर्ष बाघ वर्गलाई बिदाइ गर्दै बिरालो वर्गलाई स्वागत गर्दै ल्हाेछार मनाउन लागेको हो । सोनाम ल्हाेछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदछन् । तामाङ भाषामा ‘ल्हाे’ भनेको वर्ष/वर्ग/साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्हाेछारकाे अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

मन्जुश्रीले विकास गरेकाे चिनियाँ खगाेलशास्त्रमा आधारित चन्द्रपात्राे अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाकाे दिन तामाङ समुदायले सोनाम ल्हाेछार पर्व मनाउँदछन् । नेपालमा मात्र नभएर तामाङ समुदायकाे बसाेबास भएका विश्वका थुप्रै देशहरूमा सोनाम ल्हाेछार मनाउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*