आज सोनाम ल्होछार । देशविदेशमा विविध कार्यक्रम गरि मनाईदै

माघ, हेटौडा – तामाङ समुदायले सास्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो ।
यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्र पात्रोमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले च्यान ल्हो (बाघ वर्ग) लाई विदाई गरी ह्वोई/तावर ल्हो (बिरालो वर्ग) लाई स्वागत गरेका छन् । यो २८५९ सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
शनिबारबाट नै ल्होछारको विविध कार्यक्रम सुरु भएपनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टिका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा यसपटक नेपाल तामाङ घेदुङ संघीय समिति टुँडिखेलमा कार्यक्रम हुँदै छ।
घेदुङ्ले यस पटकको नारामा ‘सोनाम ल्होछार-२८५९ भव्य रुपले सफल पारौं, ग्रेन गे धिम (भवन) खरिद अभियानलाई पुरा गरौँ ।’ भन्ने अभियानलाई सार्थकता दिनको निम्ति केन्द्रित रहेको छ ।
आज हेटौडामा ल्होछार सास्कृतिक महोत्सब
ल्होछार सास्कृतिक महोत्सबको दोस्रो दिन आज तामाङ समुदाय बाहुल्यता रहेको बागमती प्रदेशको राजधानी हेटौडाको टिसिएन चौरमा आज सोनाम ल्होछार सास्कृतिक महोत्सब हुँदै छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा जिल्लाको विभिन्न संघसंथाको सहयोगमा ल्होछार सास्कृतिक महोत्सब भईरहेको छ ।
दोस्रो सत्र आज हेटौडा उपमहानगरपालिका मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा उदघाटन गरिने कार्यक्रम रहेको छ । ल्होछार सास्कृतिक महोत्सबमा आज गायक तथा संगीतकार टिका बमजन, गायक धिरेन लामा, अविराम मोक्तान, सुजना रुम्बा, बिमला थिङ, लगायत मकवानपुर तामाङ कलाकार संघको प्रस्तुति रहने छ । शनिबार उद्घाटन सत्रमा बागमती प्रदेश सभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो।
नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापान लगायतका देशमा समेत फरक-फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।