माघ २९ गतेबाट पाँचौ संस्करणको मकवानपुर गोल्डकप हुने
माघ, हेटौडा – पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट फागुन ११ गतेसम्म हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत जिल्ला फुटबल संघ मकवानपुरले गोल्डकपको तयारी तीब्र पारिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय सदस्य समेत समेत रहेका जिल्ला अध्यक्ष टिका लामाले प्रतियोगितामा आयोजक मकवानपुर सहित १२ वटा क्लबहरुले भाग लिने जानकारी दिए ।
हेटौंडा – ५ पिप्ले स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा आयोजक सहित मनाङ् मर्स्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एनआरटी क्लब, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जवलाखेल युथ क्लब र एभिनिर एफ सि क्यामरुन क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।






