ल्होछार कार्यक्रमले मौलिक परम्परा संरक्षणमा सहयोग पुग्छ – जिसस प्रमुख ललित घलान

माघ, हेटौडा (मनहरी) – तामाङ समुदायको मौलिक परम्परा संरक्षणको लागि सोनाम ल्होछार कार्यक्रमले सहयोग पुग्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताउनुभएको छ । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमलाई आइतबार मनहरीमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
संस्कृति र कला, भेषभुषा र भाषाको संरक्षण गरी परम्पराको जगेर्नालाई ल्होछार कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । जसले गर्दा लामा गुरुहरुले मौलिक पराम्परालाई संरक्षण गर्न इतिहास खोज्न अवश्यक रहेको जानकारी दिनुभयो ।
ल्होछार सांस्कृतिक कार्यक्रममा ८० बर्षभन्दा माथिका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय चर्चित तथा स्थानीय तामाङ तथा प्रजा कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । गायक हरी योञ्जन लगायत सुन्दर लामा, रविनकुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजा , बालिका तामाङ लगायतले सांगीतिक प्रस्तुति दिएका छन् ।
ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानको सभाध्यक्ष तथा जिसस प्रमुख घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले ल्होछार पर्वबारे सबैले बुझ्न आवश्यक रहेको जानकारी दिनुभयो । साङ्गग छ्योइफेल गुम्बा ल्होछार मुल समारोह समिति तथा तामाङ पत्रकार संघको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संबिधान सभा सदस्य राजराम स्याङतान, बागमती प्रदेश सभाका निवर्तमान सदस्य ओमबहादुर ग्लान, माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिवालय सदस्य वीरबहादुर घलान (ज्वाला), नेपाल तामाङ घेदुङका निवर्तमान केन्दिय सदस्य जानकी लामा, मनहरी गाँउपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, राक्सिराङ गाँउपालिकाका उपाध्यक्ष बनस्तम थिङ, नेपाल तामाङ घेदुङ मकवानपुरका सदस्य मानिकलाल मुक्तान लगाएतका विभिन्न संघसस्थाको व्यक्तिहरुको आतिथ्यता रहेको थियो।