विकासको लागि शिक्षाको विकास हुन आवश्यक छ – मन्त्री कुमारी मोक्तान
माघ, चितवन (माडी) – सबै क्षेत्रको बिकासको लागि शिक्षाको बिकास हुनुपर्ने बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।
आइतबार चितवनको माडी नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिवाकर स्मृति माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मन्त्री मोक्तानले बागमती प्रदेशका बिद्यालयहरुमा बिज्ञान प्रबिधि शिक्षाको बिकासमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो।
मन्त्री मोक्तानले माडीको शिक्षाको बिकासको लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो । त्यस्तै, मन्त्री मोक्तानले राष्ट्रिय योजना आयोगको बिशेष अनुदानमा निर्माण हुने २४ कोठे भवनको समेत शिल्यान्यास गर्नुभएको थियो ।
१ करोड २३ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण हुने २४ कोठे भवन निर्माण पश्चात बिध्यालयको प्रशासनिक तथा शैक्षिक गतिबिधि संचालन गर्न सहज हुने बिध्यालयका प्रधानाध्यापक राजु अधिकारीले बताउनुभयो ।
बागमति प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले माडीलाई शैक्षिक हब बनाउनको लागि दिवाकर स्मृति बिध्यालयले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रम बिध्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारी, अभिभावक लगायतलाई सम्मान गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतो, मनहरी गाउपालिकाको उपाध्यक्ष सीता पुलामी, माडी नगरपालिकाका प्रबक्ता दण्डपाणी पौडेल, ५ नं वडा अध्यक्ष गणेश घताने, शिक्षक अभिभावक संघका अध्यक्ष एकनारायण काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
माडी नगरपालिकाको उत्कृष्ट बिध्यालयको रुपमा स्थापित दिवाकर स्मृति माध्यमिक बिद्यालयमा बालबिकास केन्द्रमा ३ सय ७२ जना सहित १ हजार एक सय ४२ जना बिध्यार्थी अध्ययनरत छन् ।
बिद्यालयमाकक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढाई भैरहेको बिध्यालयका शिक्षक सुर्यप्रसाद पंगेनीले बताउनुभयो ।

राज कुमार केसी




