मनहरीको मासिनेमा १ सय ५६ जनाको स्वास्थ्य परीक्षण
माघ, हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित पशुपतिनाथ माविमा आयोजित निशुल्क स्वास्थ्य परीक्षणमा १ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५६ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग एवम् मनहरी गाउँपालिकाको कार्यालय र मनहरीको ४ नम्बर वडाको समन्वयमा भएको शिविरमा सुगर, प्रेसर र नसा सम्बन्धि रोगका विरामी बढी भेटिएका थिए ।
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका अध्यक्ष कालाखेतीले बार्षिकोत्सवको अवसरमा मनहरी गाउँपालिका स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।
गाउँपालिकाका विपन्न परिवारका लागि गरिबसंग विश्वेश्वर स्वास्थ्य कार्यक्रम लागू गरेको जानकारी दिँदै उनले आगामी दिनमा आवश्यकता अनुसार गरिब एवम् विपन्नको क्षेत्रमा कार्यक्रम निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मनहरी गाउँपालिका कार्यपालिका सदस्य मिरा गौतम, वडा सदस्य दिनेश प्रजा, दिव्यतारा सहकारी सचिव इश्वर पन्डित, फिजिसियन डा. सन्जयकुमार गुप्ता, जनरल सर्जन डा. सरोज प्रधान, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजिवकुमार सिंह, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, पशुपतिनाथ मावि अध्यक्ष माधव गौतम, पूर्व अध्यक्षहरु पवन खड्का, बालमुकुन्द ढकाल, मानबहादुर बिष्ट, शिक्षक संघ मनहरी अध्यक्ष सुशील गौतम लगायतको आतिथ्यता रहेको थियो ।






