आज व्यापार महोत्सबको अन्तिम दिन, रचना रिमाल र चेतन सापकोटाको प्रस्तुती रहने

माघ, हेटौडा – हेटौंडाको टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सब आज समापन हुँदै छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलाको आज अन्तिम दिन चर्चित गायिका रचना रिमाल, गायक तथा संगीतकार चेतन सापकोटा आउने भएको छ ।
यसअघि आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यले आफ्नो बिजोड प्रस्तुती दिएका थिए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
ग्राण्ड फाइनलमा अनिता मोक्तान (१), प्रेमलाल बैठा (२), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५) र सुसन शाही ठकुरी (८) ले आफ्नो प्रस्तुती दिएका छन् । उनीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एवम् मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।
मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।