सेलो बादशाह प्रेम लोप्चन सहित आधादर्जन कलाकारको कुर्लेदमारमा सांगीतिक प्रस्तुति हुने

माघ, हेटौडा (मकवानपुर गढी) – तामाङ सेलो सांगीतिक क्षेत्रको बादशाह गायक प्रेम लोप्चन सहित आधादर्जन कलाकारहरुको मकवानपुर गढीको कुर्लेदमारको खेलमैदानमा सांगीतिक प्रस्तुति हुने भएको छ ।
तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई/तावर ल्हो (बिरालो बर्ग) को अवसरमा यहि माघ २७ गते मकवानपुर गढीको कुर्लेदमारको चौरमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा गायक लोप्चन सहित गायक तथा संगीतकार प्रकाश तितुङ्ग, धिरेन लामा, बिक्रम लुङ्बा, अविराम मोक्तान, बिमला थिङ्ग, सुजना रुम्बा, सुमियान पाख्रिन लगायतको सांगीतिक प्रस्तुति हुने ल्होछार मूल आयोजक समितिका संयोजक आकाशकुमार गोलेले जानकारी दिनुभयो।
त्यस्तै, सोहि कार्यक्रममा डान्सर प्रेमा लोप्चन, रबि लामाको पनि प्रस्तुति रहने छ । लामा, बोन्पो (झाँकी), ताम्बाको झाँकी प्रदर्शनी, तामाङ नाटकको पनि मन्चन हुने समितिका सचिव राजकुमार गोलेले बताउनु भयो।
मकवानपुर गढीको समग्र स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले छोटो समयमा मकवानपुरगढी गाउँपालिकाको मुख्य सहयोगमा ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिको सचिव राजकुमार गोलेले बताउनु भयो । कार्यक्रम सभ्य भब्य बनाउन सबैलाई सहभागीको लागि आयोजकले आह्वान गरेको छ।