‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा विदेशबाट गुलाबको फूल ल्याउन रोक

तामसालिङ खबर
२६ माघ २०७९, बिहीबार १७:१४

माघ, काठमाडौं – ‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाएको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको हो ।

नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयलाईहरु पत्राचार गर्दै केन्द्रले विशेष कारण भन्दै गुलाबको फूल आयातमा रोक लगाएको हो ।

प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले भने वनस्पतिजन्य रोगको जोखिमका कारण आयातमा तत्कालका लागि रोकिएको जनाएको छ । केन्द्रले यसलाई रोकिएको भन्दा पनि होल्ड गरिएको भनेर बुझ्न आग्रह गरेको छ । विरुवाजन्य चीजमा रोग र किराको सम्भावना भएपछि तत्काल आयातलाई रोकिएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताए ।

‘नेपालमा गुलाब र अन्य विरुवामा रोग आउने जोखिम देखियो । जोखिम अध्ययन पनि नभएका कारण अहिलेलाई रोकिएको हो’ उनले भने । यसबारे प्राविधिक समितिको बैठक बाँकी नै रहेकाले त्यसपछि मात्रै थप निर्णय हुने आचार्यले बताए ।

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*