गंगबुको ल्होत्से मलमा मोबाइल लुट्ने ४ जना पक्राउ
फाल्गुन, काठमाडौँ – गंगबु बसपार्क स्थित ल्होत्से मलको मोबाइल पसल लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
उनीहरू विरुद्ध मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद लिएको छ। शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले सोमवार बेलुकी ६ बजेतिर लुटपाट गरेका थिए । नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनु पर्ने, माइक्रो बस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर संगठनले गरेको आन्दोलनले उग्ररूप लिएको थियो।
ल्होत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेको काठमाडौँ सुपरमार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामान चोरी गरेका थिए।
पक्राउ पर्नेमा जिल्ला दैलेख भगवती गापा ३ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौँ महानगर-२६ सामाखुसी बस्ने ३५ वर्षीय नवीन खड्गी, जिल्ला रूपन्देही खैरेनी न.पा.-५ घर भई हाल काठमाडौँ महानगर-२६ बस्ने २२ वर्षीय सुजन खत्री, जिल्ला झापा शिवसताक्षी नपा- ४ घर भई काठमाडौँ महानगर-१५ स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेत छन्।






